रोयल टुलिप काठमाडौंलाई आईपीओमा लैजान नबिल इन्भेष्टमेन्टसँग सम्झौता

रोयल टुलिप काठमाडौंलाई आईपीओमा लैजान नबिल इन्भेष्टमेन्टसँग सम्झौता

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड र द म्यासिफ होटल प्राइभेट लिमिटेड बीच होटललाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्दै आईपीओ निष्काशनको तयारी अघि बढाउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप काठमाडौं सञ्चालन गरिरहेको द म्यासिफ होटल प्राइभेट लिमिटेडलाई सर्वसाधारणमा शेयर निष्काशन (आईपीओ) गर्ने उद्देश्यसहित ‘रोड टु आईपीओ’ अन्तर्गत संस्थागत परामर्श सेवा सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा होटलका तर्फबाट अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी ले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले होटललाई निजी कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्न आवश्यक समन्वय तथा परामर्श सेवा उपलब्ध गराउनेछ । साथै, सार्वजनिक निष्काशनका लागि आवश्यक पूर्वतयारी र नियामक निकायबाट अनुमति प्राप्त गर्ने प्रक्रियामा समेत सहयोग गर्ने जनाएको छ ।

फ्रान्सेली अन्तर्राष्ट्रिय चेन ब्राण्डअन्तर्गत सञ्चालन भइरहेको रोयल टुलिप काठमाडौं पाँचतारे होटल हो । होटलमा ३०८ वटा कोठा तथा सुइट रुम रहेका छन् । साथै साना–ठूला गरी १० वटा बैठक हलसमेत सञ्चालनमा छन् ।

होटलले आधुनिक वास्तुकला, अत्याधुनिक सुविधा, हेल्थ क्लब, स्पा, रेष्टुरेन्ट तथा कार्यक्रम आयोजना गर्न मिल्ने सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीका अनुसार ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिरहेको होटललाई नेपालकै ठूलो क्षमतायुक्त होटलमध्ये एकका रूपमा हेरिएको छ ।

नबिल इन्भेष्टमेन्टले आवश्यक पूर्वतयारी पूरा भएपछि सम्बन्धित नियामक निकायसँग सार्वजनिक निष्काशनको अनुमति माग्ने प्रक्रिया अघि बढाइने जनाएको छ ।