नदीकिनारका बस्ती सुरक्षित स्थानान्तरण गर्नुपर्छ, सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गरिन्छ: बालेन शाह

नदीकिनारका बस्ती सुरक्षित स्थानान्तरण गर्नुपर्छ, सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गरिन्छ: बालेन शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका नदी किनारमा बसोबास गर्दै आएका जोखिमपूर्ण बस्तीहरूको दीर्घकालीन समाधानका लागि सुरक्षित स्थानान्तरण आवश्यक रहेको बताएका छन्। थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा उनले वर्षौँदेखि दोहोरिँदै आएको बाढीको समस्या अन्त्य गर्न अब ढिलाइ गर्न नहुने बताएका छन्। हरेक वर्षको बाढीका कारण नदी किनारमा बसोबास गर्ने हजारौँ नागरिकले ज्यान जोगाउँदै घरबार छोडेर भाग्नुपर्ने अवस्था अन्त्य गर्न सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

उनले जोखिमयुक्त स्थानमा बसाइँ राखिराख्नु नागरिकको अधिकार नभई सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नै वास्तविक अधिकार भएको उल्लेख गरे। “अब पनि दुर्घटना कुरेर बस्ने कि सुरक्षित व्यवस्थापन गर्ने भन्ने प्रश्न गम्भीर छ,” उनले भनेका छन्।

प्रधानमन्त्री शाहले नदीकिनारका बस्तीका कारण ढल निकास प्रणालीमा अवरोध पुग्दा काठमाडौं उपत्यका प्रदूषित बन्दै गएको पनि बताए। यस्ता बस्तीको व्यवस्थापनले ढल निकास प्रणाली सुधार गर्न मद्दत पुग्ने उनको भनाइ छ।

थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रमा रहेका बस्तीलाई बल प्रयोग नगरी मानवीय ढङ्गले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको उनले स्पष्ट पारे।

देशभर लाखौँ सुकुम्बासी रहेको उल्लेख गर्दै उनले वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याइने बताए। वास्तविक सुकुम्बासीलाई प्रक्रिया पुर्‍याएर यथाशीघ्र जग्गा वितरण गरिने उनको प्रतिबद्धता छ।

वर्षौँदेखि समाधान हुन नसकेको सुकुम्बासी समस्या यसै सरकारको कार्यकालमा स्थायी रूपमा समाधान गरिने विश्वास दिलाउँदै उनले सरकार आन्तरिक तयारीमा रहेको बताएका छन्।

उनको भनाइ जस्ताको तस्तै–
बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदी किनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य!

यो वर्षौँदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु।

सोच्नुहोस् त, अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने? उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौँदेखि झुलाइयो, त्यसै गरी अबका वर्षहरूमा पनि झुलाइराख्नु? नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो? पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो।

त्यस्तै, नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेका छन्। यो स्थानान्तरणले काठमाडौँको ढल निकास प्रणालीलाई सहज बनाउनेछ। यी विविध कारणले नै थापाथली, गैरीगाउँ अनि मनोहरा लगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो।

मैले उम्मेदवारका रूपमा झापामा गरेको वाचा, वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रूपमा छानिएका ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ (सुकुम्वासी व्यवस्थापन बुँदा ९१ र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुँदा ९२) हामीले बिर्सिएका छैनौँ। ती वाचा पूरा गर्न हामी आन्तरिक रूपमा तयारी गरिरहेका छौँ।

काठमाडौँका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन्। अनि देशभर लाखौँ सुकुम्वासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौँस अतिक्रमणकारी र सुकुम्वासी छुट्टाउने नै छौँ। देशभरका वास्तविक सुकुम्वासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ।
ढुक्क हुनुहोस्।