

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिले शेयर कारोबार तालिका परिवर्तन गर्ने निर्णय गरेको छ। अबदेखि शुक्रबार शेयर कारोबार सञ्चालन हुने भएको छ। सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आइतबार कारोबार बन्द गर्ने र त्यसको सट्टा शुक्रबार बजार खुलाउने निर्णय गरेको हो।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार, सरकारको निर्णयअनुसार आइतबार कारोबार बन्द हुने भएकाले शुक्रबार बजार सञ्चालन गर्ने व्यवस्था गरिएको हो। उनले भने, “आइतबार बिदा भएपछि शेयर कारोबार पनि बन्द हुन्छ, त्यसैले शुक्रबार कारोबार खोल्ने निर्णय गरिएको हो।”
यसअघि शुक्रबार शेयर कारोबार बन्द रहने व्यवस्था थियो भने साताको पाँच दिन आइतबारदेखि बिहीबारसम्म मात्र कारोबार हुँदै आएको थियो। अब भने सोमबारदेखि शुक्रबारसम्म नियमित कारोबार हुनेछ। सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।