नेपाल–भारत आर्थिक सहकार्य थप सहज र परिणाममुखी बनाउन जरुरीः चन्द्र ढकाल

नेपाल–भारत आर्थिक सहकार्य थप सहज र परिणाममुखी बनाउन जरुरीः चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई अझ सहज, प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन्।

भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई सम्बोधन गर्दै उनले दुई देशबीच भन्सार प्रक्रियालाई सरलीकरण, मापदण्डमा समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगका लागि वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण आवश्यक रहेको बताए।

महासङ्घद्वारा जारी विज्ञप्तिअनुसार अध्यक्ष ढकालले भारत नेपालका लागि सबैभन्दा ठूलो व्यापार साझेदार तथा प्रमुख लगानी स्रोत भएको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सुदृढ सम्बन्धले दुई देशबीचको साझेदारीलाई विशिष्ट बनाएको धारणा राखे।

उनले विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता र आपूर्ति शृङ्खलामा देखिएका अवरोधका बीच छिमेकी राष्ट्रबीचको बलियो सहकार्य अझ महत्वपूर्ण हुने बताए। साथै, भारतले हालै सार्वजनिक गरेको केन्द्रीय बजेटले पूर्वाधार विकास, डिजिटल कनेक्टिभिटी, हरित ऊर्जा र साना–मझौला उद्योग प्रवर्द्धनलाई दिएको प्राथमिकताले नेपालका लागि पनि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।

अध्यक्ष ढकालले नेपाल जलविद्युत् उत्पादनमा समृद्ध रहेको र भारततर्फ विद्युत् निर्यात सुरु भइसकेको जानकारी दिँदै पर्याप्त प्रसारण लाइन र नीतिगत स्थायित्व सुनिश्चित भएमा नेपाल भारतको विश्वसनीय हरित ऊर्जा साझेदार बन्न सक्ने उल्लेख गरे।

पर्यटन क्षेत्रतर्फ संकेत गर्दै उनले नेपालले प्राकृतिक सौन्दर्य, साहसिक तथा आध्यात्मिक गन्तव्यका माध्यमबाट आकर्षण बढाएको बताए। होटल, रिसोर्ट तथा केबलकार परियोजनामा लगानीको अवसर विस्तार हुँदै गएको जानकारी पनि उनले दिए।

‘ऊर्जा, पर्यटन, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवाजस्ता क्षेत्रमा उल्लेखनीय सम्भावना छ,’ अध्यक्ष ढकालले भने, ‘यी क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गर्दछु।’

नेपालको निजी क्षेत्र सधैँ राजनीतिक स्थायित्व र आर्थिक अनुशासनको पक्षमा उभिँदै आएको उल्लेख गर्दै उनले दीर्घकालीन लगानीकर्ताको विश्वास कायम राख्न नीतिगत सुधारलाई अघि बढाइएको बताए।

उनले इन्डो–नेपाल व्यापार महोत्सव औपचारिकता मात्र नभई सद्भावनालाई व्यावसायिक साझेदारीमा रूपान्तरण गर्ने प्रभावकारी मञ्च भएको उल्लेख गर्दै हरित ऊर्जा, डिजिटल सेवा, पर्यटन र उत्पादन क्षेत्रमा ठोस सहकार्य अघि बढाउन भारतीय उद्योगी–व्यवसायी तथा लगानीकर्तालाई आह्वान गरे।