आइसिसी टी–२० विश्वकपः आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै

आइसिसी टी–२० विश्वकपः आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । आइसिसी टी–२० विश्वकपअन्तर्गत नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईस्थित वानखेडे रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

दुवै टोलीका लागि यो प्रतियोगिताको दोस्रो खेल हो। पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो। समूह ‘सी’ बाट सुपर–८ मा स्थान बनाउन आजको खेल दुवै टिमका लागि निर्णायक मानिएको छ।

टी–२० अन्तर्राष्ट्रिय फर्म्याटमा नेपाल र इटालीबीच यो पहिलो भेट हो। यद्यपि ५० ओभरको खेलमा भने दुई टोलीबीच तीनपटक प्रतिस्पर्धा भइसकेको छ, जसमा नेपालले सबै खेल आफ्नो पक्षमा पारेको थियो। उनीहरूको पछिल्लो भेट सन् २०१३ मा भएको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेख प्रमुख ब्याटिङ आधार मानिएका छन्। कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र शेर मल्ल टोलीका अन्य मुख्य खेलाडी हुन्। विशेषगरी डेथ ओभरमा बलिङ नियन्त्रण सुधार गर्नु नेपालको प्रमुख चुनौतीका रूपमा देखिएको छ।

पहिलोपटक विश्वकप खेलिरहेको इटाली पनि पहिलो जितको खोजीमा मैदान उत्रिनेछ।