मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
वान्खेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको छ।
इङ्ल्यान्डका ज्याकब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रन बनाएका छन् भने कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन जोडेका छन्। विल ज्याक्सले १८ बलमा १ चौका र ४ छक्कासहित अविजित ३९ रन प्रहार गरेका छन्।
नेपालका शेर मल्लले पहिलो बलमै इङ्ल्यान्डका ओपनर फिल साल्टलाई आउट गर्दै पहिलो विकेट घटाएका थिए। त्यसपछि बेथेल र ब्रूकले चौथो विकेटको लागि ७१ रनको साझेदारी गर्दै इंग्ल्यान्डको इनिङ्स सम्हाले।
बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए भने डेब्यु खेलाडी शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए। शेर मल्लले टी–२० विश्वकपबाटै नेपालको सिनियर टोलीमा डेब्यु गरेका हुन्। यस खेलमा आरिफ शेख, लोकेश बम र नन्दन यादवले पनि विश्वकपमा डेब्यु गरेका छन्।
यसअघि दुई पटक विश्वकप खेलेका सोमपाल कामी भने इंग्ल्यान्डविरुद्धको खेलमा बेन्चमा रहेका छन्।





