अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ खिच्ने

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ खिच्ने

काठमाडौं । बजारमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। राष्ट्र बैंकले ५२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट खिच्न लागेको हो।

यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्नुपर्नेछ। बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकले बजारको अधिक तरलता नियन्त्रण गर्न नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यसअन्तर्गत संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी चैत ११ गते गरिनेछ। ब्याजदर भने बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम निष्कासित रकमसम्म, पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिँदै क्रमशः बाँडफाँट गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ।