निर्वाचन आयोगमा कांग्रेस- ‘कोही व्यक्ति वा समूहले महाधिवेशन डाक्न पाउँदैन’ (फाेटाे फिचर)

निर्वाचन आयोगमा कांग्रेस- ‘कोही व्यक्ति वा समूहले महाधिवेशन डाक्न पाउँदैन’ (फाेटाे फिचर)

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कुनै पनि व्यक्ति वा समूहलाई पार्टीको महाधिवेशन डाक्ने अधिकार नरहेको स्पष्ट पारेका छन्। पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेका खड्काले लोकतन्त्र र संविधानमाथि गम्भीर षड्यन्त्र भइरहेको जिकिर गरेका छन्।

निर्वाचन आयोग परिसरमा बोल्दै खड्काले आफू १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको उपसभापति तथा सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको विधानअनुसार कार्यवाहक सभापतिको हैसियतमा उपस्थित भएको बताए। १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू समेत आयोगको अगाडि उपस्थित रहेको उनको भनाइ थियो।

खड्काले हालसम्म पार्टीको कुनै पनि महाधिवेशन नभएको दाबी गर्दै भने, ‘नेपालको लोकतन्त्रमा कुनै व्यक्तिले पार्टीको नाममा भेला गर्ने, कुनै पदाधिकारीले महाधिवेशनको नाम दिने र त्यसलाई कानुनी तथा राजनीतिक विषय बनाइने हो भने पार्टीका विधान, मुलुकको संविधान र राजनीतिक दलसम्बन्धी ऐनको अर्थ के रहन्छ ? यो अत्यन्त गम्भीर अवस्था हो।’

उनका अनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको १४ औँ महाधिवेशनबाट निर्वाचित सम्पूर्ण केन्द्रीय कार्यसमिति, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँ तथा पालिका कार्यसमितिहरू सबै आधिकारिक पक्षसँगै रहेका छन्।

खड्काले स्पष्ट शब्दमा भने, ‘केन्द्रीय कार्यसमिति बाहेक कुनै पनि निकाय, पदाधिकारी, सदस्य वा समूहले नेपाली कांग्रेसको कुनै पनि तहको, कुनै पनि प्रकृतिको अधिवेशन वा महाधिवेशन गर्ने अधिकार राख्दैन। पार्टीको विधानमा यो कुरा स्पष्ट रूपमा उल्लेख छ।’