एन.पि.आई. नारायणी सामुदायिक हस्पिटलले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

एन.पि.आई. नारायणी सामुदायिक हस्पिटलले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

काठमाडाैं । एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडले निकट भविष्यमै सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाअनुसार नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि कम्पनीले आईपीओ निष्काशनमा जाने जनाएको हो।

आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापकको रूपमा कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीले कुल जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्नेछ भने बाँकी ८० प्रतिशत शेयर संस्थापक समूहकै स्वामित्वमा रहने कम्पनीले जनाएको छ।

कम्पनीका सञ्चालक  चुडामणी खनालकाअनुसार सेवा विस्तारका क्रममा निर्माणको अन्तिम चरणमा रहेको ४०० शैयाको जनरल तथा क्यान्सर अस्पताल सञ्चालनका लागि थप पूँजी आवश्यक परेकाले कम्पनीले सार्वजनिक निष्काशनको बाटो रोजेको हो।

वि.सं. २०६३ मा स्थापना भएको एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडले अस्पताल सेवा तथा विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको छ। हाल कम्पनीको वार्षिक कारोबार १ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने ४२५ भन्दा बढी कर्मचारी कार्यरत रहेका छन्।

आईपीओ निष्काशनसम्बन्धी सम्झौतामा एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडका तर्फबाट सञ्चालक  चुडामणी खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए । हस्ताक्षर समारोहमा कम्पनीका सञ्चालकहरू  विष्णु कुँवर र  निरज कुमार श्रेष्ठको समेत उपस्थिति रहेको थियो।