

म्याग्दी : उत्तर, पूर्व र पश्चिम तीनैतिर हिमालले घेरेको-फेदीमा निलो ताल, वरिपरि सुक्खा पहाड र खुला आकाशमा प्रतिबिम्बित नीलगिरि हिमालको छायाँ । बिहानको सुनौलो घाममा ‘सुन’ झैँ चम्किने र रातमा ‘जुन’ झैँ टल्कने यो दृश्य हो-म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित पञ्चकुण्ड ताल ।
चार हजार ५० मिटर उचाइमा रहेको यो ताल अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा फैलिएको छ । एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड अन्नपूर्ण हिमालको हिउँ पग्लिएर बनेको प्राकृतिक हिमताल हो, जसले पछिल्ला वर्षहरूमा नयाँ पर्यटकीय गन्तव्यको रूपमा ख्याति कमाउँदै आएको छ ।
अन्नपूर्ण आधार शिविर जाने ‘मौरिस हर्जोग पदमार्ग’मा पर्ने पञ्चकुण्ड तालमा हाल देशी–विदेशी पर्यटकको चहलपहल बढेको छ । हिमाल, आधार शिविर र ताल एउटै स्थानबाट अवलोकन गर्न सकिने विशेषताका कारण यहाँ आउने पर्यटक मुग्ध हुने गर्छन् ।
इटालीकी पर्यटक निमा भन्छिन्, “वरिपरिका हिमाल र फेदीमा रहेको तालले मलाई मोहित र प्रफुल्लित बनायो । यहाँको अलौकिक सौन्दर्यमा रमाउँदा सबै तनाव हरायो, मनमा उमङ्ग छायो ।”
स्थानीय व्यवसायी नरिमाया गर्बुजा गुरुङका अनुसार पञ्चकुण्ड अवलोकन गर्न अहिले दैनिक ३०० देखि ५०० पर्यटक आउने गर्छन् । “सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चापछि यो दसैँ–तिहारबीच आन्तरिक पर्यटकको थामिनसक्नु भीड लाग्यो,” उनले भनिन्, “हाम्रो होटल क्षमताभन्दा बढी पाहुना आउँदा व्यवस्थापनमै समस्या भयो।”
पञ्चकुण्ड ताल केवल प्राकृतिक गन्तव्य मात्र होइन, धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । नारच्याङका चन्द्रजित पुनका अनुसार पाँच वटा कुण्ड भएकैले यसको नाम ‘पञ्चकुण्ड’ रहन गएको हो ।
“पञ्च रामायणमा रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच तालको उल्लेख छ,” उनले बताए, “तर अहिले हिउँ पग्लिएर सबै ताल एउटै बनेका छन्।”
कथन अनुसार, ऋषि कागभुसुन्दीले यही ठाउँमा तपस्या गरी ज्ञान प्राप्त गरेका थिए । पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वासका कारण यहाँ शिव मन्दिर निर्माण गरिएको छ । नजिकैको डाँडोलाई स्थानीयले ‘कागभुसुन्दी डाँडा’ नाम दिएका छन् ।
कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकबाट नारच्याङ बेँसी हुँदै हुमखोलासम्म २० किलोमिटर कच्ची सडकमा गाडी चल्छ । त्यहाँबाट करिब छ घण्टा पैदलयात्रा गरेपछि पञ्चकुण्ड पुगिन्छ ।
हुमखोलादेखि गुराँसेडाँडा, फुतफुते झरना, साधीखर्क, गुफाफाँट, आकाशे गुफा, रातो झरना, भुसखेत मेला, सुनखोला हुँदै ताल पुग्ने पदमार्ग छ । छिटो हिँड्नेले एकैदिनमा ताल पुग्न सक्छन्, अन्यथा भुसखेतमा बास बसेर भोलिपल्ट ताल पुगिन्छ ।
पञ्चकुण्डदेखि एक घण्टा पैदलयात्रा गरेपछि ४,१५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगिन्छ । यहीँबाट पर्वतारोहीहरूले अन्नपूर्ण हिमाल आरोहण गर्छन् ।
मौरिस हर्जोग पदमार्गमा हाल अस्थायी होटलहरूमा खाना र बासको सुविधा छ । पाहुनाको भीडका कारण पहिले नै बुकिङ गरेर आउने सल्लाह स्थानीय व्यवसायी माइकल पुनले दिएका छन् ।
तर, पर्यटकको चापसँगै तालको सरसफाइ चुनौती बनेको छ । झोलुङ्गे पुलको अभावले यात्रा जोखिमपूर्ण छ । हिउँदमा ताल जम्ने भएकाले बरफमाथि हिँड्दा दुर्घटनाको जोखिम रहन्छ ।
यहाँ विद्युत् र सञ्चार सुविधा अझै सीमित छन् । अन्नपूर्ण आरोहणका प्रथम नेता फ्रान्सेली मौरिस हर्जोगको सम्मानमा यस पदमार्गलाई उनका नाममा नामकरण गरिएको हो । विसं २०६८ मा पहिचान र २०८० देखि सञ्चालनमा आएको यो मार्ग अन्नपूर्ण गाउँपालिकाको पहल र स्थानीय लगानीमा विस्तार गरिएको हो ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाभित्र पर्ने भएकाले स्थायी संरचना बनाउन निषेध छ । त्यसैले अस्थायी आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालय र खुला सङ्ग्रहालयजस्ता पूर्वाधारहरू तयार पारिएका छन् ।
अन्नपूर्ण आधार शिविर र पञ्चकुण्डको भूगोल म्याग्दीमै पर्ने प्रमाणित गराएर गाउँपालिकाले आरोहणबापतको राजस्व (रोयल्टी)मा पनि दाबी गरेको छ ।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले पनि हालै अन्नपूर्ण आधार शिविर भ्रमणपछि सरकार र सरोकारवालासँग समन्वय गरी मौरिस हर्जोग पदमार्ग, पञ्चकुण्ड ताललगायतका गन्तव्यको विकास र प्रवद्र्धनमा जोड दिने बताए ।
“छोटो दूरीमा सजिलै पुगिने भएकाले यहाँको पर्यटन सम्भावना अत्यधिक छ,” उनले भने, “सञ्चार र विद्युत् विस्तार, पदमार्ग स्तरोन्नति, फोहर व्यवस्थापन र झोलुङ्गे पुलजस्ता पूर्वाधारमा सरकारले ध्यान दिनुपर्छ।”
पर्वतारोही, तीर्थयात्री र प्रकृतिप्रेमीका लागि पञ्चकुण्ड ताल अन्नपूर्णको हृदयमा अवस्थित एक स्वर्गीय उपहार झैँ बनेको छ, जहाँ प्रकृति, शान्ति र आस्थाको संगम एकै ठाउँमा अनुभव गर्न सकिन्छ ।