युट्युबले ट्रम्पलाई २ करोड ४० लाख डलर तिर्ने

युट्युबले ट्रम्पलाई २ करोड ४० लाख डलर तिर्ने

काठमाडौं । भिडिओ प्लेटफर्म युट्युबले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दायर गरेको मुद्दा फर्छ्यौट गर्न २ करोड ४० लाख डलर तिर्न सहमति जनाएको छ।

सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटल हिलमा भएको दंगापछि युट्युबले ट्रम्पको आधिकारिक अकाउन्ट बन्द गरेको थियो। त्यसपछि ट्रम्पले राजनीतिक पूर्वाग्रहको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए।

युट्युबको मूल कम्पनी अल्फाबेट (गुगलको मालिक कम्पनी) ले उक्त क्षतिपूर्ति रकम तिर्ने सहमति जनाएको हो। यसअघि फेसबुक र एक्स (पहिले ट्विटर) ले पनि ट्रम्पसँग सम्झौता गर्दै क्षतिपूर्ति भुक्तानी गरेका थिए।

ट्रम्पले ती सामाजिक सञ्जाल कम्पनीहरूले कन्जरभेटिभ आवाजलाई अनुचित रूपमा सेन्सर गरेको दाबी गर्दै आएका छन्। तर कम्पनीहरूले भने उनका गतिविधिले अमेरिकामा हिंसा बढ्न सक्ने तर्क गरेका थिए।