अर्थ मन्त्रालयमा आजदेखि पूर्णरूपमा ‘डिजिटल स्वीकृति’ लागू

अर्थ मन्त्रालयमा आजदेखि पूर्णरूपमा ‘डिजिटल स्वीकृति’ लागू

काठमाडौं : अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी र निर्णय प्रक्रिया डिजिटल स्वीकृति प्रणालीमार्फत मात्र सञ्चालन गर्ने भएको छ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरिएको जानकारी दिएका हुन्।

उनका अनुसार अबदेखि आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति दिने–लिने काम अनलाइन प्लेटफर्ममार्फत मात्र हुनेछ। यसले समय, लागत र श्रम बचत हुनेसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ।

मन्त्रालयले जनाएको अनुसार डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै कर्मचारीले हातले गर्ने पुराना प्रक्रिया अन्त्य हुनेछन् र सम्पूर्ण रेकर्ड सुरक्षित रूपमा डिजिटल आर्काइभमा रहनेछन्।