

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन्। कारागारमा रहेका ३८ सयमध्ये अहिले करिब ५ सयकै हाराहारीमा मात्र कैदीबन्दी रहेका छन्।
स्रोतका अनुसार भद्रबन्दी गृहमा एक सय, महिला बन्दी गृहमा करिब एक सय र सेन्ट्रल कारागारमा करिब ३ सय कैदीबन्दी मात्र अवशेष छन्। भद्रबन्दी गृहमा राखिएका नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन्।
यद्यपि, भागेकामध्ये केही कैदीबन्दी फर्किन थालेका छन्। हालसम्म करिब ५० जनाले आत्मसमर्पण गरी कारागार फर्किएको र अझै केही फर्कने क्रममा रहेको स्रोतले जनाएको छ।
सुरक्षा निकायका अनुसार नख्खु कारागारबाट निस्केका कैदीहरू राति १० बजेतिर सुन्धारा पुगेका थिए। उनीहरूले कारागार तोडफोड गरेपछि सुरक्षाका लागि खटिएका प्रहरी घटनास्थल छाडेर आर्मी मुख्यालयतर्फ गएको स्रोतको भनाइ छ। नेपाली सेना कारागारमा पुग्दा भने करिब ३३ सय कैदीबन्दी फरार भइसकेका थिए।