एआईको प्रयोग गरी अधिकतम लाभ लिन सक्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

एआईको प्रयोग गरी अधिकतम लाभ लिन सक्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कृत्रिम बुद्धिमता (एआई)को प्रयोग गरी अधिकतम लाभ लिन सक्नुपर्नेमा जोड दिएका छन् ।

शनिबार (साउन २४) काठमाडौंमा ‘आदिवासी जनजाति र कृत्रिम बौद्धिकता : अधिकारको रक्षा र भविष्यको निर्माण’ विषयक गोष्ठीको उद्घाटन गर्दै उनले भने, “जसले आज एआईको प्रयोगबाट विकास गरेको छ, त्यसले लाभ लिएको अवस्था छ । संसारका धनी वा गरिब सबै देशले एआईबाट अधिकतम लाभ लिन सक्छन् ।”

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले हाल विकासको हरेक क्षेत्रमा एआईको प्रयोग हुने गरेको उल्लेख गरे । कृषि, स्वास्थ्य, शिक्षा, सुशासन, पर्यटन, उद्योग, विपत्ति व्यवस्थापनलगायत क्षेत्रमा यसको प्रयोग बढाउने गरी काम भइरहेको उनले बताए ।

आदिवासी जनजातिका विषयमा संवैधानिक, कानुनी र नीतिगत अधिकारको खोजी गरी त्यसको कार्यान्वयन र थप अधिकारका निम्ति एकजुट हुनुपर्ने उनको भनाइ थियो । उनले भने, “एआई हाम्रो लागि अवसर हो । यसको ठिक ढंगले प्रयोग गर्न जानिएन भने चुनौती बढ्दै जान्छ । ती चुनौती कसरी कम गर्न सकिन्छ भन्नेबारे पनि छलफलहरू भएका छन् ।”

हरेक वर्षको अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघको एक अध्ययनानुसार, विश्वभर आदिवासी जनजातिको जनसंख्या ६० करोडभन्दा बढी छ । विश्व जनसंख्याको यो करिब ७५ प्रतिशत हो । उनीहरू विश्वका ९० भन्दा बढी देशमा बसोबास गर्छन् ।

विश्वमा बोलिने सात हजार बढीमध्ये दुईतिहाइ अर्थात् पाँच हजारभन्दा धेरै भाषा आदिवासी जनजातिले प्रयोगमा ल्याएका छन् । नेपालमा बोलिने १२४ मध्ये ९३ भाषा आदिवासी जनजातिका हुन् । विश्वमा प्रचलित ८० प्रतिशत खाद्य उत्पादन आदिवासी ज्ञानमा आधारित छ ।

भौगोलिक रूपमा पृथ्वीको २८ प्रतिशत भूभागमा आदिवासी जनजातिको बसोबास छ । उनीहरू ८५ प्रतिशत जैविक विविधताका संरक्षक पनि हुन् ।