वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध, जहरे खेतमा ठुलो पहिरो

वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध, जहरे खेतमा ठुलो पहिरो

धादिङ । लगातारको वर्षापछि पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–५ स्थित जहरे खेत नजिकै खसेको ठूलो पहिरोका कारण राजमार्ग दुबैतर्फबाट ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रेष्ठले जानकारी दिए ।

पहिरो हटाएर सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । तर वर्षा जारी रहेकाले र पहिरो विस्तारै बगिरहेकोले काममा कठिनाइ भइरहेको छ । प्रहरीका अनुसार जहरे खेतको पहिरो पन्छाउन मात्रै करिब तीन घण्टा लाग्ने अनुमान गरिएको छ ।

राजमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिएका सवारीसाधनहरू र राजधानीतर्फ आउँदै गरेका रात्री बसहरू सडकमै रोकिएका छन् । सवारीको लामो जाम हुन नदिन ट्राफिक प्रहरीले विभिन्न स्थानमा सवारी रोक्ने व्यवस्था गरेको छ ।

वर्षाका कारण पृथ्वी राजमार्गका अन्य स्थानहरूमा पनि सडक एकतर्फ मात्र सञ्चालन भइरहेको छ । सुरक्षा निकाय र सडक डिभिजनको टोली पहिरो हटाउने प्रयासमा खटिएका छन् । यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।