चीनमा पहिलोपटक रोबोट स्टोर सञ्चालनमा

चीनमा पहिलोपटक रोबोट स्टोर सञ्चालनमा

काठमाडौं । चीनको दक्षिणी सहर शेन्जेनमा विश्वकै पहिलो रोबोट स्टोर सञ्चालनमा आएको छ। शेन्जेन फ्यूचर टाइम्स रोबोटिक्स कम्पनीले यो अत्याधुनिक रोबोट सुपर स्टोर स्थापना गरेको हो।

उक्त स्टोरमा रोबोटिक मसाज उपकरणदेखि लिएर क्यापुचिनो कफी बनाउने रोबोटसम्मका विभिन्न प्रकारका अत्याधुनिक रोबोटहरू बिक्रीमा राखिएका छन्। ग्राहकले प्रत्यक्ष रूपमा रोबोटहरू अवलोकन, परीक्षण र किन्न सक्ने सुविधा पनि उपलब्ध छ।

स्टोरको संरचना र सेवा प्रणाली अटो डिलरशिपजस्तै देखिन्छ, जहाँ स्पेयर पार्ट्स, प्राविधिक सेवा, ग्राहक सर्भे र अतिरिक्त सेवा सुविधा पनि समावेश गरिएको छ।

स्टोरको उद्घाटन अवसरमा २६ वटा रोबोट कम्पनीहरूले सहकार्य सम्झौतामा हस्ताक्षर गरेका छन्। तीमध्ये ५० भन्दा बढी ह्युमनोइड र सेवा रोबोट फर्महरूसहित अन्य दर्जनौं प्रविधि कम्पनीहरूले स्टोरमा चासो देखाएका छन्।

यो स्टोरले भविष्यको उपभोक्ता बजारमा रोबोटको प्रयोग र पहुँच विस्तारमा महत्वपूर्ण मोड दिन सक्ने अनुमान गरिएको छ।