

काठमाडौँ । सिन्धुलीको गोलान्जोर गाउँपालिका–६ बागेश्वरमा एकै परिवारका १६ जना तीन दिनदेखि सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार हायु थरका ती व्यक्तिहरूसँग बिहीबारदेखि कुनै सम्पर्क हुन सकेको छैन।
बेपत्ता परिवारको घरमा प्रहरीले खोजी कार्य तीव्र पारेको छ। ‘मोबाइल सम्पर्कमा छैनन्, प्राविधिक विश्लेषणमार्फत लोकेसन ट्र्याक गर्ने प्रयास भइरहेको छ,’ एसपी सुवेदीले भने, ‘घरमा वस्तुभाउ, सुँगुर काटिएको संकेत त देखिन्छ, तर मान्छे कोही छैनन्।’
स्थानीय सरकारबाट लोपोन्मुख जातिको रूपमा ती परिवारलाई मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले भत्ता दिँदै आएको थियो। हालै तीन महिनाको जम्मा एक लाख ९२ हजार रुपैयाँ लिएको पनि पुष्टि भएको छ।
उक्त घर गाउँबाट एकान्तमा रहेको र छिमेकीको घरसम्म पुग्न कम्तीमा १५ मिनेट लाग्ने वडा अध्यक्ष रविन श्रेष्ठले जानकारी दिए। परिवारले एउटा भैँसी गाउँकै अर्काे घर नजिक बाँधेका थिए, तर बिहीबारदेखि घाँस हाल्न नआएपछि गाउँलेहरू सोमबार बिहान घर पुगेका थिए।
‘ढोका खुलै थियो, तर घरभित्र कोही थिएन’, गाउँलेको भनाइ उद्धृत गर्दै प्रहरीले अनुसन्धान थालेको छ। बेपत्ता हुनेमा उर्मिला हायु, उनका ६ छोराछोरी, २ ज्वाइँ, ५ छोरी र नातिनातिनाहरू छन्। खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।