

काठमाडौं : चितवनका विभिन्न क्षेत्रमा आज (आइतबार)देखि औपचारिक रूपमा लोडसेडिङ सुरु गरिएको छ। नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले सार्वजनिक गरेको तालिकाअनुसार दैनिक दुई चरणमा गरी ६ घण्टा विद्युत् आपूर्ति बन्द गरिने भएको हो।
अत्यधिक गर्मी र सिँचाइका लागि बढ्दो विद्युत् मागका कारण लोड व्यवस्थापन गर्न कठिन भएको भन्दै प्राधिकरणले लोडसेडिङ आवश्यक भएको जनाएको छ। चनौली वितरण केन्द्र अन्तर्गत नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने क्षेत्रहरूमा लोडसेडिङ लागू गरिएको हो।
प्राधिकरणका अनुसार भरतपुर १३२/३३ केभी सबस्टेशनबाट आउने ३३ केभी ‘डक कन्डक्टर’ तारमा ३०० एम्पिएरसम्म मात्र विद्युत् प्रवाह सम्भव भए पनि हाल ४५० एम्पिएरसम्मको लोड गएपछि आपूर्ति अवरुद्ध हुन थालेको हो।
लोड व्यवस्थापनका लागि वैकल्पिक उपायस्वरूप अघिल्लो आर्थिक वर्षमै बसेनी सबस्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी नयाँ ३३ केभी प्रसारण लाइन निर्माण भइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्रकुमार झाले बुधबारसम्म वैकल्पिक माध्यमबाट समस्या समाधान गरिने जानकारी दिएका छन्।
उनका अनुसार पूर्वी चितवनको हर्दीमा निर्माण भइरहेको २४ मेगावाट क्षमताको सबस्टेशन सोमबारसम्म सञ्चालनमा आउनेछ। हर्दी स्टेशन सञ्चालनमा आएपछि भरतपुर, माडी, टाँडी, पर्सा, भण्डारा लगायतका क्षेत्रमा देखिएको विद्युत् संकट न्यूनीकरणमा सहयोग पुग्ने बताइएको छ।
प्राधिकरणले देवनगर सबस्टेशनमार्फत जगतपुरमा सिधा लाइन सप्लाई गर्ने योजना अन्तर्गत मंगलबार वा बढीमा बुधबारसम्म काम सम्पन्न गरिने जानकारी दिएको छ।
लोडसेडिङ तालिका :
नारायणी–माडी फिडर
-बिहान: ६:०० – ९:००
-दिउँसो: ३:०० – ६:००
मेघौली–विजयनगर–शुक्रनगर फिडर
-बिहान: ९:०० – १२:००
-बेलुका: ६:०० – ९:००
जगतपुर–रामपुर फिडर
-दिउँसो: १२:०० – ३:००
-राति: ९:०० – १२:००
प्राधिकरणले प्रभावित क्षेत्रका उपभोक्तालाई आवश्यक सतर्कता अपनाउन र लोड व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गरेको छ।