

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र र विशेष दिनको रूपमा देशभर मनाइँदैछ। बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा हजारौं भक्तजनको घुइँचो लागेको छ।
साउन महिनाको सोमबार भगवान् शिवको विशेष दिन मानिन्छ। ‘साउन’ र ‘सोमबार’को संगमले यो दिनलाई अझै पवित्र बनाउने धार्मिक मान्यता अनुसार भक्तजनहरू शिवको दर्शन र पूजामा लीन भएका छन्। श्रद्धालुहरूले शिवलिंगमा शुद्ध जल चढाएर व्रत बस्ने, हरियो चुरा र माला लगाउने, मेहन्दी लगाउने परम्परा अनुशरण गर्दै मनोकामना पूर्तिको कामना गरेका छन्।
पशुपतिनाथ मन्दिर परिसरमा आज बिहानैदेखि दर्शनार्थीहरूको भिड लागेको थियो। महिलाहरू विशेषगरी सौभाग्यको कामनाका साथ व्रत बसेका छन् भने युवायुवती, वृद्धवृद्धा र बालबालिकासमेत पूजा–आराधनामा समर्पित देखिएका छन्।
आजदेखि सूर्य दक्षिणायनमा प्रवेश गर्ने भएकाले साउन १ लाई धार्मिक दृष्टिले झनै विशेष मानिन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ बाट सुरु हुने दक्षिणायनको आरम्भका रूपमा पनि आजको दिनलाई धार्मिक रूपमा विशेष रूपमा मनाउने गरिन्छ।