देशभर आज बदली र वर्षाको सम्भावना, केही स्थानमा ‘धेरै भारी’ वर्षाको चेतावनी

देशभर आज बदली र वर्षाको सम्भावना, केही स्थानमा ‘धेरै भारी’ वर्षाको चेतावनी

काठमाडौं । देशभर आज (असार २२) आंशिकदेखि साधारणतया बदली रहने र धेरै स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानहरूमा भने चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। त्यसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली छ भने बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ। सुदूरपश्चिम प्रदेशलगायतका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। ती प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम र केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ।

गण्डकी, कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भूक्षय (भूस्खलन), बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने देखिएकोले महाशाखाले स्थानीय निकाय तथा सर्वसाधारणलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।