चार प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

चार प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली भएको मौसमबीच केही प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेशका केही स्थानहरू तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका धेरैजसो भागहरूमा र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी वायूको असर रहनेछ भने देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा र अन्य प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना पनि महाशाखाले जनाएको छ ।

त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र अन्य क्षेत्रका केही उच्च भागहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसमको यस स्थितिले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।