

पाल्पा । पाल्पामा अण्डा बोकेको बोलेरो जिप सडकबाट खस्दा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा गाडीका धनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्ने ३८ वर्षीय विनोद ढुंगाना र अझै पहिचान हुन नसकेका करिब ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटना सोमबार बेलुका पूर्वखोला गाउँपालिका–५ वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा भएको हो। अण्डा लोड गरिएको लु १ च ६७५६ नम्बरको बोलेरो गाडी आर्यभञ्ज्याङबाट रामपुरतर्फ जाँदै गर्दा अचानक सडकबाट तीन सय मिटर तल खसेको थियो।
गम्भीर घाइते भएका ढुंगानालाई लुम्बिनी मेडिकल कलेज, प्रभास ल्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। अर्का मृतकलाई युनाइटेड मिसन अस्पताल, तानसेनमा पुर्याइएको थियो, जहाँ उपचारपूर्वै उनको मृत्यु पुष्टि गरिएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्काको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।