२०२८ सम्म एआई चिप बजार ५०० अर्ब डलर पुग्ने एएमडीको अनुमान

२०२८ सम्म एआई चिप बजार ५०० अर्ब डलर पुग्ने एएमडीको अनुमान

काठमाडौं । अमेरिकी चिप निर्माता कम्पनी एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) का प्रमुख कार्यकारी लिसा सुले सन् २०२८ सम्म आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप बजार ५०० अर्ब अमेरिकी डलर पुग्ने दावी गरेकी छन्।

हाल विश्वभर एआई चिपको कारोबार ४५ अर्ब डलरको हाराहारीमा रहेकोमा वार्षिक ६० प्रतिशतको दरमा वृद्धि हुने अपेक्षासहित २०२८ भित्र बजारको आकार १० गुणा पुग्नेछ भन्ने विश्लेषण गरिएको हो।

सुले एक कार्यक्रममा बोल्दै भनिन्, “आजको प्रवृत्तिलाई हेर्दा २०२८ सम्म एआई चिप बजार ५०० अर्ब डलर पार गर्ने प्रक्षेपण छ।” सो अवसरमा एएमडीले आफ्नो नयाँ उत्पादन ‘एमआई ३५० सिरिज’ ग्राफिक्स प्रोसेसिङ युनिट (GPU) समेत सार्वजनिक गरेको थियो।

उनका अनुसार नयाँ चिप्सहरू ग्राहकका लागि लागत र क्षमताको हिसाबले थप प्रभावकारी हुनेछन्। उनले प्रति डलरमा ४० प्रतिशत बढी क्षमता दिने दावीसमेत गरिन्। हाल जीपीयू बजारमा एनभिडिया अग्रणी रहँदै आएको छ, तर एएमडीले समेत अब प्रतिस्पर्धा तीव्र बनाउने संकेत दिएको छ।

सुले बताएअनुसार, भारतको प्रमुख टेलिकम कम्पनी रिलायन्स जियोसहित १० ठूला एआई ग्राहकहरू मध्ये सातले एएमडी इन्स्टिंक्ट एक्सेलेरेटर प्रयोग गरिरहेका छन्।

यसैबीच, कम्पनीले विकासकर्तालाई लक्षित गर्दै ‘डेभलपर क्लाउड एक्सेस प्रोग्राम’ पनि सुरु गरेको छ। यस कार्यक्रम अन्तर्गत विकासकर्ताहरूले एएमडीका एआई प्लेटफर्महरूमा प्रत्यक्ष पहुँच पाउनेछन्।

एआई प्रविधिको तीव्र विकाससँगै चिप उद्योगको प्रतिस्पर्धा थप चर्किएको छ, र एएमडीको नयाँ घोषणा यस दौडमा कम्पनीको महत्वाकांक्षा झल्काउने संकेतको रूपमा हेरिएको छ।