

काठमाडौं । हाल देशका पश्चिमी र मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाएको छ भने कोशी प्रदेशमा मनसुनी वायुको असर देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती लगायत पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतः सफा रहेको छ। कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी प्रदेशसहित पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनुका साथै बाँकी क्षेत्रमा आंशिक बदलीदेखि सफा मौसम रहने छ। कोशीका थोरै स्थान र अन्य प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।
राति पनि कोशीसहित पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतः सफा रहनेछ। कोशी, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना यथावत् रहेको छ।
महाशाखाले कोशी प्रदेशका केही क्षेत्र, अन्य पहाडी भू-भागका थोरै स्थान र बाँकी देशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। साथै, उच्च पहाडी तथा हिमाली भू-भागमा सम्भावित हल्का वर्षा र हिमपातले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।