लायन्स इतिहासमा पहिलोपटक मल्टिपल डिष्ट्रिक्टको नेतृत्वमा महिला निर्विरोध निर्वाचित

लायन्स इतिहासमा पहिलोपटक मल्टिपल डिष्ट्रिक्टको नेतृत्वमा महिला निर्विरोध निर्वाचित

काठमाडौं : नेपाली लायनिज्मको ५४ वर्षे इतिहासमा पहिलोपटक महिलाले शीर्ष नेतृत्व सम्हाल्ने अवसर पाएकी छन्। लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ की लायन मिलन थापा आगामी लायन वर्ष २०२५/२६ का लागि मल्टिपल काउन्सिल चियरपर्सनमा निर्विरोध निर्वाचित भएकी हुन्।

वर्तमानमा डिष्ट्रिक्ट ३२५ जे की गभर्नर तथा मल्टिपल काउन्सिल भाईस चियरपर्सन रहेकी थापा एकमात्र उम्मेदवार बनेकी कारण उनी स्वतः निर्वाचित भएकी हुन्। औपचारिक घोषणा भने आगामी जुन ७ मा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने मल्टिपल कन्भेन्सनमार्फत गरिनेछ।

लायन थापाले आफ्नो नेतृत्वमा डिष्ट्रिक्ट ३२५ जे लाई उल्लेखनीय उचाइमा पुर्‍याएकी छन्। उनको यो जीतलाई केवल पद प्राप्तिको रुपमा नभई समावेशी नेतृत्व, महिलाको सशक्त उपस्थिति र समर्पित समाजसेवाको पहिचानका रुपमा लिइएको छ।

महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील थापाले लायन्स क्लबमार्फत समाजसेवामा विशेष योगदान दिँदै आएकी छन्। पहिलोपटक महिला नेतृत्व प्राप्त भएपछि नेपालभरका लायन्स लिडरहरूले उनीप्रति बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

मल्टिपल काउन्सिलको सेक्रेटरीमा डिष्ट्रिक्ट ३२५ सि का इलेक्ट गभर्नर लायन बबरजंग थापा र ट्रेजररमा डिष्ट्रिक्ट आर का इलेक्ट गभर्नर लायन नवराज सापकोटा निर्विरोध निर्वाचित भएका छन्। तर, भाईस काउन्सिल चियरपर्सन पदका लागि भने डिष्ट्रिक्ट एच का लायन रविन्द्र बहादुर प्रधान, डिष्ट्रिक्ट जि का लायन विधान जोशी र डिष्ट्रिक्ट एफ का लायन केशर बहादुर भण्डारीबीच प्रतिस्पर्धा हुने भएको छ।

निर्विरोध निर्वाचनपछिको प्रतिक्रिया दिँदै लायन थापाले भनिन्, “यो जीत मलाई ठूलो जिम्मेवारीको अनुभूति दिलाउँछ। अब यो नेतृत्वलाई रूपान्तरण र समावेशीताको प्रतीक बनाउने छु।”

उनले आफूलाई निर्विरोध निर्वाचित गराउन योगदान पुर्‍याएका सबै अग्रज लायन्स लिडर र १५ वटै डिष्ट्रिक्टका गभर्नरहरूलाई धन्यवाद दिँदै आगामी कार्यकालमा आफ्नो जिम्मेवारीप्रति पूर्ण निष्ठा रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।