

काठमाडौं : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज (आइतबार) देखाइने भएको छ। ऐतिहासिक र धार्मिक महत्व बोकेको यो जात्रा हरेक वर्ष साइत हेरेर गरिँदै आइएको हो।
करिब आठ सय वर्षअघिसम्म ‘जावलाखेल जात्रा’ भनेर चिनिने भोटो जात्रा ‘जा (भात) वला (छर्ने)’ संस्कृतिसँग सम्बन्धित रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिएका छन्। उनका अनुसार यो जात्रा भूत–प्रेतलाई खाना दिने विश्वाससँग पनि जोडिएको छ।
यद्यपि, भोटो जात्रा सुरु भएको यकिन मिति पत्ता नलागेको बताइन्छ। तर, रातो मच्छिन्द्रनाथको यात्रा भने करिब १३०० वर्षअघिदेखि सुरु भएको जनविश्वास छ।
किंवदन्तीअनुसार नागराज कर्कोटककी रानीको आँखामा समस्या आएपछि वैद्यको खोजी हुँदै एक किसानलाई गल्तीले नागलोक लगिएको थियो। डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी माटो माडेर बनाएको औषधिले रानीको आँखाको पीडा निको पार्दा पुरस्कारस्वरूप मणि–माणिक्य जडित भोटो दिइएको थियो। तर, त्यो भोटो पछि एक भूतले लगेको र किसानले जात्रामा देखेपछि दाबी गर्दा विवाद उत्पन्न भएको कथन छ। अन्ततः भोटो मच्छिन्द्रनाथकै जिम्मा लगाएर प्रत्येक वर्ष जात्रामा देखाउने परम्परा बसेको हो।
आज भोटो जात्राको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहनेछ। पछिल्लो समय यो जात्रा गुठी संस्थान ललितपुरको व्यवस्थापनमा राष्ट्राध्यक्षको उपस्थितिमा गरिँदै आएको छ। यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।