

काठमाडौं : हाल देशको पश्चिम तथा मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका अधिकांश भागमा भने मनसुनी वायुको प्रभाव देखिएको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागहरूमा मौसम सफादेखि आंशिक बदली रहने जनाइएको छ।
यी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले बताएको छ। उच्च पहाडी र हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भेगका केही स्थानमा र अन्य भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।