कामरिता शेर्पा आफ्नै रेकर्ड तोडदै ३१ औं पटक सगरमाथाको शिखरमा

कामरिता शेर्पा आफ्नै रेकर्ड तोडदै ३१ औं पटक सगरमाथाको शिखरमा

काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै ३१ औं पटक सगरमाथा (एभरेस्ट) सफल आरोहण गरेका छन्। मंगलबार बिहान ४ बजे सगरमाथाको शिखर चुम्दै उनले संसारकै सबैभन्दा धेरैपटक सर्वोच्च शिखर चढ्ने कीर्तिमान पुनः आफ्नै नाममा राखेका हुन्।

सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लेखेका छन्, “एभरेष्ट म्यानले फेरि गर्‍यो चमत्कार। ३१ औं पटक सगरमाथा आरोहण गरी इतिहास रच्नुभएकोमा कामीरिता शेर्पालाई बधाई।”

कामीरिता यसपटक २२ जना भारतीय सैनिकहरूको टोलीको मुख्य गाइडका रूपमा सगरमाथा चढेका हुन्। सोलुखुम्बुका स्थायी बासिन्दा शेर्पाले सन् १९९४ (वि.सं. २०५१) मा पहिलोपटक सगरमाथा चढेका थिए।

गत वर्ष उनले वैशाख ३० गते २९ औं पटक र त्यसपछि १० दिनमै ३० औं पटक सगरमाथा चढ्दै दुई दशकभन्दा बढीको आरोहण यात्रामा नयाँ इतिहास रचेका थिए।

कामीरिता शेर्पाको यो अद्वितीय उपलब्धिले न केवल नेपाललाई, सगरमाथा आरोहणको इतिहासलाई पनि पुनः विश्व मञ्चमा उजागर गरेको छ।