झरी पर्‍यो झरी

झरी पर्‍यो झरी

 (बाल कविता)

-रमेशचन्द्र घिमिरे –

दिक्कै लाग्दो गरी
झरी पर्‍यो झरी

`बाहिर जान पाइनँ
चारा खोज्न भ्याइनँ´
भन्दै रुन्छे चरी
झरी पर्‍यो झरी !

चल्ला भोकै भए
गुँडमै रुझिरहे
लौ न कठै बरी !
झरी पर्‍यो झरी !

घाम लागोस् भन्छे
पानी भागोस् भन्छे
तर दिनै भरि
झरी पर्‍यो झरी !

– भोर्लेटार, लमजुङ