

काठमाडौं: ग्रीष्मकालीन स्वादिलो फल लिची स्वादमा जति मिठो हुन्छ, अत्यधिक सेवनले स्वास्थ्यमा त्यत्तिकै असर पार्न सक्छ। भिटामिन सी, पोटासियम, कपर, फाइबर र एन्टिअक्सिडेन्टजस्ता पौष्टिक तत्वले भरिपूर्ण भए पनि लिचीका बेफाइदा पनि छन्, विशेषगरी अत्यधिक मात्रामा सेवन गर्दा।
विशेषज्ञहरूका अनुसार लिची खाँदा यी कुराहरू ध्यान दिनुपर्छ:
लिचीमा उच्च मात्रामा प्राकृतिक चिनी हुन्छ, जसले अत्यधिक सेवन गर्दा पेटको बोसो बढाउने र मोटोपना निम्त्याउने सम्भावना हुन्छ।
एलर्जी भएकाहरूले लिची खाँदा छालामा दाग, चिलाउने वा अन्य प्रतिक्रिया देखिन सक्छ। यस्तो असर देखिएमा तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ।
लो ब्लड प्रेसर भएका व्यक्तिले दिनमा ४–५ वटा लिची भन्दा बढी नखान सल्लाह दिइन्छ, किनभने लिचीले रक्तचाप अझै घटाउन सक्छ।
धेरै लिची खाँदा कब्जियत, एसिडिटी र अपचजस्ता समस्या हुन सक्छन्। यसले पाचन प्रणाली कमजोर बनाउँछ।
लिचीमा करिब ८२ प्रतिशत पानी हुँदाहुँदै पनि यसलाई सिधै नखाई २–३ घण्टा पानीमा भिजाएर मात्र सेवन गर्नुपर्छ। यसरी खाँदा लिचीको तातो प्रभाव कम हुन्छ।
विशेषज्ञहरूको अनुसार एक दिनमा १०–१२ वटा भन्दा बढी लिची खानु हुँदैन। त्यसैले स्वादिलो भए पनि लिची सावधानीपूर्वक र सन्तुलित मात्रामा खानु स्वास्थ्यका लागि हितकारी हुन्छ। विशेष गरी बालबालिकालाई लिची अत्यधिक नखुवाउन अभिभावकले ध्यान दिनुपर्छ।