

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता विजय जोलीले नेपालका ८१.२ प्रतिशत जनता हिन्दू राष्ट्रको पक्षमा रहेको दाबी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली जनतामा हिन्दू राष्ट्रप्रति गहिरो भावना रहेको उल्लेख गर्दै आफू त्यसमा समर्थन दिन तयार रहेको बताए।
चार दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायत शीर्ष नेताहरूसँग भेट गरेको जानकारी दिँदै जोलीले भने, “नेपालका ८१.२ प्रतिशत जनताले हिन्दू राष्ट्र चाहन्छन्। म त्यसमा साथ दिन तयार छु।” उनले नेताहरूले पनि जनभावनालाई सम्मान गर्दै पुनः विचार गर्ने विश्वास व्यक्त गरे।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ठोरीमा भगवान राम जन्मिएको अभिव्यक्तिको प्रसंग स्मरण गर्दै जोलीले उक्त विचारको बचाव गरे। उनले भारतीयहरूले त्यसबेला आलोचना गरे पनि ओलीको भनाइ नेपाली सांस्कृतिक पहिचानप्रति गर्वको अभिव्यक्ति भएको बताए।
नेपाल–भारत सम्बन्धबारे बोल्दै जोलीले भूकम्पका बेला भारतले सबैभन्दा पहिले सहयोग गरेको स्मरण गरे। उनले पहलगाम आतंकवादी हमलापछि नेपालले भारतप्रति देखाएको ऐक्यबद्धता, विशेषतः केपी शर्मा ओलीले १२ घण्टाभित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी समर्थन जनाएको प्रसंग उल्लेख गरे।
अयोध्यामा राम मन्दिर बनेपछि आर्थिक विकासमा देखिएको प्रभाव नेपालमा पनि सम्भव हुने बताउँदै उनले भने, “यदि नेपालले सांस्कृतिक आत्मपहिचानलाई सम्मान गर्यो भने यस्तै विकास सम्भव छ।” उनले पहलगाम हमलाको आलोचना गर्दै भारतका प्रधानमन्त्री मोदीले दोषी आतंककारीहरूलाई कारबाही गर्ने विश्वास व्यक्त गरे।
जोली इन्स्टिच्युट फर पब्लिक पोलिसी एन्ड पार्टनरसिपको निमन्त्रणामा नेपाल आएका हुन्। भ्रमणका क्रममा उनले विभिन्न दलका नेताहरूसँग समेत भेटवार्ता गरेका छन्।