वियोगी बुढाथोकीको नयाँ नियात्रा कृति ‘समयले जुटाएको चिटचिट’ लोकार्पण

वियोगी बुढाथोकीको नयाँ नियात्रा कृति ‘समयले जुटाएको चिटचिट’ लोकार्पण

काठमाडौं । साहित्यकार वियोगी बुढाथोकीद्वारा लिखित पाँचौँ नियात्रा कृति ‘समयले जुटाएको चिटचिट’ को मंगलबार काठमाडौंमा एक समारोहबीच लोकार्पण गरिएको छ। नेपाली लेखक संघका अध्यक्षसमेत रहेका बुढाथोकीका यसअघि १७ कृति प्रकाशित भइसकेका छन्।

शिवपुरी साहित्य समाजद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि नियात्रा समाजका अध्यक्ष मोहन चापागाईंले कृतिको सार्वजनिक लोकार्पण गर्दै वियोगीका नियात्राहरूमा मानवीकरणको गहिरो पुट देखिने बताए। उनले साहित्यकारको व्यक्तित्व तिनका कृतिहरूमा प्रतिबिम्बित हुने उल्लेख गर्दै कृतिभित्र समावेश रोचक प्रसंगहरूको चर्चा गरे।

कार्यक्रममा प्रा. कपिल अज्ञातले कृतिमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै आँखा, मन र गोडाको सन्तुलनबाट मात्रै प्रभावशाली नियात्रा जन्मिने बताउँदै वियोगीका कृतिमा अनुभूति र सन्देश दुवै प्रचुर रहेको बताए। अर्की समीक्षक अनुपमा रेग्मीले वियोगीका नियात्रामा गहिरो अनुभूति र सशक्त अभिव्यक्ति पाइने धारणा राखिन्।

कृतिकार वियोगी बुढाथोकीले पुस्तक प्रकाशनको पृष्ठभूमि र लेखन यात्राको अन्तर्य पनि साझा गरे। कार्यक्रममा सर्जकहरू विष्णुबहादुर सिंह, श्रीओम रोदन, प्रोल्लास सिन्धुलीय, भवानी खतिवडा, केशव पराजुलीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए।

पुस्तक भुँडीपुराण प्रकाशनबाट बजारमा आएको हो।