

काठमाडौं। नेपालमा पछिल्ला चार वर्षमा चट्याङका कारण २३७ जनाले ज्यान गुमाएका छन् भने ९०८ जना घाइते भएका छन्। देशका झापा, उदयपुर, मकवानपुरदेखि कञ्चनपुर र हुम्लादेखि धनुषासम्मका विभिन्न क्षेत्रहरू चट्याङको उच्च जोखिममा रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठका अनुसार, २०७८ साउन १ देखि २०८२ जेठ ५ गतेसम्म देशभर १,११८ वटा चट्याङका घटना भएका छन् जसबाट १,६०७ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। उनले नेपाल चट्याङजन्य जोखिमका हिसाबले विश्वमा पाँचौँ स्थानमा पर्ने पनि जानकारी दिइन्।
क्षति सबैभन्दा बढी कोशी र लुम्बिनीमा
चार वर्षको अवधिमा कोशी प्रदेशमा मात्र २९५ चट्याङका घटना हुँदा ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका छन्। त्यहाँ ४२० चौपाया मरेका छन् भने करिब १ करोड ६० लाख रुपैयाँभन्दा बढीको धनमालको क्षति भएको छ।
लुम्बिनी प्रदेशमा १८० चट्याङका घटनामा ५४ जनाले ज्यान गुमाएका छन्। त्यहाँ ३ करोड ४९ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको र ९८ चौपाया मरेका छन्। २७६ परिवार प्रभावित र १६५ जना घाइते भएका छन्।
अन्य प्रदेशहरूमध्ये सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाको मृत्यु भएको छ। कर्णालीमा २०७ जना, सुदूरपश्चिममा १५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना घाइते भएका छन्।
सचेतना र प्रविधिको अभाव मुख्य कारण
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम वैज्ञानिक मदन सिग्देलका अनुसार नेपालमा विपद्बाट हुने जनधनको दोस्रो ठूलो कारण चट्याङ हो। उनले विशेषगरी प्रि–मनसुन र मनसुनका महिनाहरू—चैतदेखि असारसम्म—चट्याङको सम्भावना उच्च हुने बताए।
सिग्देलका अनुसार, चट्याङको प्रक्रिया रोक्न नसकिए पनि यसबाट हुने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिन्छ। चेतना र प्रविधिको अभावले नेपालमा अन्य देशको तुलनामा बढी क्षति भएको उनको भनाइ छ।
राडार उपकरण विग्रिएर निष्क्रिय
जल तथा मौसम विज्ञान विभागले चट्याङ पूर्वानुमानका लागि उदयपुर, पाल्पा र सुर्खेतमा जडान गरेका तीनवटा राडार उपकरण हाल बिग्रिएर निष्क्रिय छन्। ती मर्मत गरेर सञ्चालनमा ल्याएमा चट्याङ पर्ने सम्भावित क्षेत्रको जानकारी एक घण्टा अघिसम्म पाउन सकिने सिग्देलले बताए।
उनले घर र ठूला संरचनाहरू निर्माण गर्दा चट्याङबाट जोगिन वैज्ञानिक उपकरण जडान अनिवार्य गर्नुपर्ने र स्थानीय तहले समुदायसम्म सचेतना पुर्याउन आवश्यक रहेको सुझाव दिए।