आज पनि अधिकांश प्रदेशमा पानी पर्ने, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज पनि अधिकांश प्रदेशमा पानी पर्ने, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशभर आज पनि पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको असर कायम रहेको छ। यसको प्रभावले अधिकांश प्रदेशमा मेघगर्जन, चट्याङ र हल्कादेखि मध्यम वर्षा हुने मौसम विभागले जानकारी दिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको बताइएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरीको पनि सम्भावना छ।

रातिको समयमा पनि मौसम धेरै ठाउँमा बदली हुने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना पनि रहन्छ।

महाशाखाले गर्मी, वर्षा र चट्याङका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आवश्यक पूर्वतयारी गर्न र जोखिम न्यूनिकरणमा सहयोग गर्न आग्रह गरिएको छ।