सगरमाथा संवादमा १२ देशका १७५ विदेशी विशिष्ट पाहुना

सगरमाथा संवादमा १२ देशका १७५ विदेशी विशिष्ट पाहुना

काठमाडौं । नेपाल सरकारले जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद–२०८२’ मा १७५ जना विदेशी पाहुना सहभागी हुने पक्का भएको छ। परराष्ट्रमन्त्री तथा संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाका अनुसार करिब ३५० जना सहभागी रहने छन्, जसमा विदेशी र स्वदेशी दुवै समावेश हुनेछन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री राणाले १२ देशका उच्च तहका प्रतिनिधिमण्डल सहभागी हुने जानकारी दिँदै, सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको बताइन्।

संवादको यो संस्करणको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको छ। सगरमाथा संवाद नेपालले स्थापना गरेको अन्तर्राष्ट्रिय मञ्च हो, जसको उद्देश्य मानव सभ्यतासँग सम्बन्धित जटिल समस्या र मुद्दाहरूमा संवाद, छलफल र समाधानतर्फको निष्कर्ष निकाल्नु हो।

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन भने परराष्ट्रमन्त्री राणाले स्वागत मन्तव्य दिनेछिन्। भारत, चीन लगायत १२ देशका प्रतिनिधिमण्डल, कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु सम्बन्धी विशेष प्रतिनिधि तथा संयुक्त राष्ट्रसंघ महासचिवको सन्देशसहित कार्यक्रम सम्पन्न हुनेछ।

उद्घाटनपछि जलवायु परिवर्तन तथा पर्वतीय क्षेत्रसँग सम्बन्धित १२ छुट्टाछुट्टै सत्रहरू सञ्चालन हुनेछन्, जसमा राजनीतिज्ञ, नीति निर्माता, वैज्ञानिक, विद्वान र अनुसन्धानकर्ताले गहन छलफल गर्नेछन्।

कार्यक्रममा सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंक लगायत ६१ स्वदेशी तथा विदेशी संस्था, विश्वविद्यालय, अनुसन्धान केन्द्र, नागरिक समाज र गैरसरकारी संस्थाहरूको सहभागिता रहनेछ।

मन्त्री राणाका अनुसार, यो संवाद नेपाललाई तटस्थ र संवादमैत्री कूटनीतिको नेतृत्वदायी भूमिकामा स्थापित गर्ने प्रयासको एक हिस्सा हो। जलवायु लगायत विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धता र नेतृत्वलाई उजागर गर्दै राष्ट्रिय आत्मविश्वास बलियो पार्ने र नेपालको विश्व छवि थप मजबुत बनाउने उद्देश्य रहेको उनले बताइन्।