देशका केही भूभागमा आज वर्षा र चट्याङको सम्भावना

देशका केही भूभागमा आज वर्षा र चट्याङको सम्भावना

काठमाडौं । आज देशका केही भूभागमा वर्षा र चट्याङको सम्भावना रहेको छ। कोसी, सुदूरपश्चिम प्रदेशलगायत विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोसी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि देखिएको छ।

विभागले राति पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने जनाएको छ।

पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको विभागको भनाइ छ।