नीति तथा कार्यक्रम स्थिरता र विकासमुखी भएकाले ढुक्क भएर समर्थन गर्नुस् : प्रधानमन्त्री ओली

नीति तथा कार्यक्रम स्थिरता र विकासमुखी भएकाले ढुक्क भएर समर्थन गर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्थायित्व, विकास र सुशासनमा केन्द्रित रहेकाले सांसदहरूलाई ढुक्क भएर समर्थन गर्न आग्रह गरेका छन्।

शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै उनले सरकारको नीति स्पष्ट, स्थिर र जनमुखी रहेको बताउँदै विपक्षीको विरोधप्रति प्रभावित नहुन दलका सांसदहरूलाई सुझाव दिए।

“हाम्रा नीति तथा कार्यक्रमहरू सही दिशामा छन्,” ओलीले भने, “विपक्षी दलहरूले विरोध गर्नु स्वाभाविक हो, तर त्यसका आधारमा शंका गर्न जरुरी छैन। सही कुराको पक्षमा दृढतापूर्वक उभिनुपर्छ।”

उनले एमालेभित्र वैचारिक एकता, स्पष्टता र दृढता रहेको दाबी गर्दै संसद्मा यसको प्रभावकारी प्रस्तुति हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले पछाडि पारिएका समुदायलाई माथि उठाउने गरी नीति तय गरिएको, समाजप्रति उत्तरदायी र जनताप्रति जवाफदेही सरकार निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताए।

उनले राष्ट्रिय हित र छिमेकसँग सन्तुलित सम्बन्धलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको स्मरण गराए।