

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिक वर्गको हकहितका लागि कांग्रेसले निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै देउवाले ट्रेड युनियन ऐन, श्रम ऐन र सामाजिक सुरक्षा कोषजस्ता कानुनी व्यवस्थाहरू अघि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको उल्लेख गरेका हुन्।
उनले हाल पनि श्रमजीवीहरू विभिन्न समस्या झेल्न बाध्य रहेको भन्दै तिनको समाधानमा सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए। “श्रमजीवी वर्गका समस्या समाधान गर्दै उनीहरूको हकहितको संरक्षण, कार्य वातावरण सुधार, सामाजिक सुरक्षा, उचित पारिश्रमिक र पेसागत मर्यादाका लागि कांग्रेस सदैव क्रियाशील रहिआएको छ,” सन्देशमा भनिएको छ।
देउवाले सन् १८८६ मा अमेरिकाको शिकागोमा श्रमिकहरूले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै चलाएको ऐतिहासिक आन्दोलनको स्मरण गर्दै त्यसले अन्तर्राष्ट्रिय श्रमिक दिवसको आधार तयार पारेको बताए। उनले नेपालमा विसं २००३ मा विराटनगर जुट मिलमा कांग्रेस नेतृत्वमा भएको मजदुर आन्दोलनलाई नेपाली श्रमिक आन्दोलनको ऐतिहासिक कोसेढुङ्गा ठहर गर्दै त्यसैबाट विसं २००७ को जनक्रान्तिको शुरुवात भएको दाबी गरे।
सभापति देउवाले कांग्रेसको नेतृत्वमा विसं २०१६ मा बनेको जननिर्वाचित सरकारले कारखाना तथा श्रमिकसम्बन्धी कानुन तर्जुमा गर्दै श्रमिकलाई कानुनी अधिकार प्रदान गरेको स्मरण गरे। साथै, कांग्रेसले नै नेपाली श्रम बजारको उन्नति र सामाजिक न्यायसहितको उदार अर्थनीतिमा अग्रसरता लिएको उनले बताए।
श्रमिक वर्गले लामो संघर्षपछि प्राप्त गरेको अधिकारको सम्मान गर्दै देउवाले सबैमा नयाँ ऊर्जा र प्रेरणा फैलोस् भन्ने कामना समेत व्यक्त गरे।