

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ अन्तर्गत आज र भोलि (शनिबार र आइतबार) देशभर करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ। कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि दिइनेछ।
बालबालिकामा कुपोषण अझै पनि चुनौतीको विषय भएकाले वर्षको दुईपटक — वैशाख र कात्तिकमा — यो औषधि वितरण कार्यक्रम सञ्चालन हुँदै आएको हो। भिटामिन ‘ए’ को कमीले दृष्टि गुम्ने, आँखामा घाउ आउने र रतन्धोजस्ता समस्याहरू देखिने भएकाले पूर्वसावधानी स्वरूप औषधि खुवाइँदै आएको हो।
स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखा निर्देशक डा. विवेक कुमार लालका अनुसार सूक्ष्म पोषक तत्त्वको कमीका कारण भिटामिन ‘ए’ को अभाव हुने गर्छ। “यसले आँखाको दृष्टिमा असर गर्छ, र समयमै ध्यान नदिँदा दृष्टिविहीनता आउन सक्छ,” उनले बताए।
कार्यक्रमका क्रममा बालबालिकाको पोषण अवस्था परीक्षणसमेत गरिनेछ। औषधि वितरणका लागि देशभरबाट ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालित गरिएका छन्।
यो कार्यक्रम नेपालमा सन् १९९३ (वि.सं. २०५०) मा आठ जिल्लाबाट सुरु भई २०५९ सालदेखि देशभर लागू गरिएको हो। जुकाको औषधि कार्यक्रम २०५६ सालदेखि सुरु भई २०६७ सालदेखि पूर्णरूपमा कार्यान्वयनमा आएको हो। बालभिटा कार्यक्रम २०६४ सालदेखि सञ्चालनमा ल्याइएको छ।
सरकारले हरेक वर्ष कात्तिक र वैशाखमा यो कार्यक्रम निःशुल्क रूपमा सञ्चालन गर्दै आएको छ। सरकारी तथ्याङ्क अनुसार, नेपालमा भिटामिन ‘ए’ को अभावका कारण हरेक दिन एक बालबालिका दृष्टिविहीन हुने गरेका छन्। यसै कारण सरकार बालस्वास्थ्य सुधारमा विशेष ध्यान दिँदै आएको छ।