भृकुटीमण्डपमा अनुमति नपाएपछि राप्रपाको आमसभा आज बल्खुमा

भृकुटीमण्डपमा अनुमति नपाएपछि राप्रपाको आमसभा आज बल्खुमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बागमती प्रदेशस्तरीय विशाल आमसभा बल्खुमा गर्ने भएको छ। यसअघि भृकुटीमण्डपमा आमसभा गर्ने योजना भए पनि स्थानीय प्रशासनले सुरक्षा कारण देखाउँदै अनुमति नदिएपछि कार्यक्रम स्थल परिवर्तन गरिएको हो। राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार आमसभा अब बल्खुमा हुनेछ।

श्रेष्ठले भने, ‘सरकारको रवैयाबाट बुझ्न सकिन्छ, हाम्रो आन्दोलनले उचाइ लिँदैछ। अब आन्दोलनलाई योजनाबद्ध र क्रमिक रूपमा अघि बढाउनु जरुरी छ।’

आमसभा सफल बनाउने उद्देश्यले सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो। बैठकले प्रदर्शनलाई सभ्य, अनुशासित र भव्य बनाउने निर्णय गरेको छ।

गत चैत १५ गते दुर्गा प्रसाई नेतृत्वमा भएको राजावादी आन्दोलन हिंसात्मक बनेपछि राप्रपा नेतृत्वले आजको प्रदर्शनमा अनुशासन कायम राख्न विशेष जोड दिएको छ। राजेन्द्र लिङदेनको नेतृत्वमा हुने यो प्रदर्शनलाई पार्टीले शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने तयारी गरेको छ।