

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराको आज अन्त्येष्टि गरिंदैछ। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो २ बजेदेखि राप्रपाको केन्द्रीय कार्यालय, चाबहिलमा राखिनेछ, त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।
बोहराको निधनप्रति दुःख व्यक्त गर्दै राप्रपाले तीन दिन शोक मनाउने निर्णय गरेको छ। मंगलबार बसेको पार्टीको आकस्मिक बैठकले उनको योगदानको स्मरण गर्दै पार्टी कार्यालय तथा जिल्ला र कमिटीस्तरका कार्यालयहरूमा झण्डा आधा झुकाउने र कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ।
राप्रपाले बोहराको निधनले पार्टी तथा राष्ट्रवादी आन्दोलनमा ठूलो क्षति पुगेको उल्लेख गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ।