राप्रपालाई सुवेदी नेतृत्वको मोर्चामा समाहित गर्न अध्यक्ष लिङ्देनलाई दबाब

राप्रपालाई सुवेदी नेतृत्वको मोर्चामा समाहित गर्न अध्यक्ष लिङ्देनलाई दबाब

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदीको संयोजकत्वमा गठन भएको संयुक्त जनआन्दोलन समितिमा समाहित गर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई दबाब दिएका छन् । हिजो मंगलबार सम्पन्न राप्रपा केन्द्रीय समितिको बैठकमा संस्थापनइतरले अध्यक्ष लिङ्देनमाथि यस्तो दबाब दिएका हुन् ।

महामन्त्री कुन्ती शाहीले भनिन्, ‘पार्टी अध्यक्षको मात्र होइन, हामी सबैको हो । अध्यक्ष एक्लैले सुवेदी नेतृत्वको संयुक्त मोर्चामा बस्दिन भन्न पाउनु हुन्न, पार्टीले निर्णय गर्नुपर्दछ ।’ राजसंस्थाको पक्षमा असाधारण माहोल बनेको बेला लिङ्देन आन्दोलन तुहाउने र गणतन्त्रलाई सहयोग गर्नेतर्फ अग्रसर भएको धेरै केन्द्रीय सदस्यहरुले आशंका व्यक्त गरेका थिए । अध्यक्ष लिङ्देन राजा ल्याउने आन्दोलनका विरुद्धमा मात्र होइन, राप्रपा नै धराशयी हुने लाइनमा हिँडेको आराेप बैठकमा केन्द्रीय सदस्यहरुल लगाए ।

अध्यक्ष राजेन्द्र लिङ्देनले संयुक्त जनआन्दोलन समितिमा सहभागी नहुने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए । तर सुवेदी नेतृत्वको मोर्चामा सहभागी हुनुपर्दछ भन्ने मत पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले राखेका थिए ।

यसैगरी पूर्वमन्त्री हरिबहादुर बस्नेत, जयन्त चन्द, प्रवक्ता सगुन सुन्दर लावती, सहमहामन्त्रीहरु रवीन्द्र प्रताप शाह तथा रिना गुरुङ, सहायक महामन्त्रीहरु प्रवीण थोकर र सौरेन्द्र शाह, केन्द्रीय सदस्यहरु सुरेश आचार्य, नारायण कोइराला, कर्णबहादुर शाही, निरंजन थापा, जनकराज पाठक, रन्जन कार्की, नानु आचार्यलगायतले राजसंस्था पूनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिमा राप्रपालाई समाहित गर्नुपर्नेमा जोडदार आवाज उठाएका थिए ।