महायज्ञस्थल ‘पवित्र’ बनाउन दलित परिवारलाई उठीवास, माटोसमेत फालियो

महायज्ञस्थल ‘पवित्र’ बनाउन दलित परिवारलाई उठीवास, माटोसमेत फालियो

-मुकेश कुमार यादव-

सिरहा । सिरहाको औरही गाउँपालिकामा करिब २५ वर्षदेखि बस्दै आएको एक दलित मलिक परिवारलाई महायज्ञस्थल ‘पवित्र’ बनाउन भन्दै घर भत्काएर उठीवास गराइएको छ।

पूर्व–पश्चिम हुलाकी राजमार्ग छेउमा लामो समयदेखि बस्दै आएका दीपक मलिकको परिवारलाई गाउँपालिका अध्यक्ष शिवजी यादवले महायज्ञ आयोजकहरूको निर्देशनमा विस्थापित गराएका हुन्। गत फागुन १० गते गाउँपालिकाकै जेसिभी प्रयोग गरी मलिकको घर भत्काइयो। त्यसपछि अछूतले छोएको भन्दै घर रहेको स्थानको माटोसमेत दुई फिटसम्म खनेर खोलामा फालिएको छ।

महायज्ञका नाममा जबरजस्ती विस्थापन

गाउँपालिकाले मलिक परिवारलाई श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीको करिब दुई धुर जग्गामा दुई कोठे टिनले छाएको अस्थायी घरमा सारिएको छ। सात सदस्यीय परिवार नयाँ ठाँउमा बस्न बाध्य छ, तर त्यहाँ न पानीको सुविधा छ, न विजुली। दीपककी श्रीमती अनिता मलिक भन्छिन्, “बर्षौंदेखि बसेको ठाउँबाट उठाइयो। यहाँ विजुली छैन, पानी छैन। गाउँबाट पानी मागेर एक महिनादेखि गुजारा गरिरहेका छौं।”

विरोध र सरकारी हस्तक्षेप

यज्ञस्थलबाट हटाइएको पीडित परिवारलाई पुन: अन्यत्र जान दबाब दिइएको अनिता मलिक बताउँछिन्। “हामी श्रीमान्–श्रीमती घरमा नभएको बेला डोजर लगाएर घर भत्काइयो। हामी निरीहले के प्रतिकार गर्न सक्थ्यौं?”

यस घटनापछि विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि जिल्ला प्रहरी प्रमुख रमेश पण्डित स्थलगत निरीक्षणमा पुगेका छन्। उनले तत्कालका लागि महायज्ञ रोक्न निर्देशन दिइएको बताए। “यो महायज्ञ विवादित बन्यो, केन्द्रबाट नै रोक्न निर्देशन आएको छ,” उनले भने।

दलित अधिकारकर्मीहरूले यो घटना जातीय विभेदकै पराकाष्ठा भएको बताएका छन्। महायज्ञका पुजारी बजरंगी बाबा, गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई कानूनी कारबाही गर्न माग गरिएको छ। घटनाको छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगसमेत सक्रिय हुनुपर्ने अधिकारकर्मीहरूले बताएका छन्।