नेपाली सेनाको स्पष्टीकरण: संविधानप्रदत्त जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता

नेपाली सेनाको स्पष्टीकरण: संविधानप्रदत्त जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता

काठमाडौं । नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारीहरू निर्वाह गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

केही दिनयता सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सेनासम्बन्धी विभिन्न टीकाटिप्पणीहरू भइरहेका बेला बुधबार जंगी अड्डाले विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको हो।

सेनाले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफ्नो अटल प्रतिबद्धता दोहोर्याउँदै राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकताको रक्षा गर्न सधैं तत्पर रहेको स्पष्ट पारेको छ।

साथै, सेनाले आफ्ना गतिविधि र आधिकारिक धारणा नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, सामाजिक सञ्जाल तथा सैनिक कार्यक्रमहरू मार्फत सार्वजनिक गर्दै आएको जानकारी गराएको छ।

विज्ञप्तिमा, सेनासम्बन्धी सत्य सूचना लिन जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न आग्रह गर्दै भ्रामक प्रचारप्रति सचेत रहन समेत अनुरोध गरिएको छ।