६.१ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म कति क्षति भयो ?

६.१ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म कति क्षति भयो ?

काठमाडौं। शुक्रबार बिहान सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार भूकम्पका कारण एक घर पूर्ण रूपमा ध्वस्त हुँदा तीन घर आंशिक रूपमा क्षति भएका छन्। क्षति भएका संरचनामध्ये एक गोठ र एक प्रहरी कार्यालयसमेत परेका छन्।

भूकम्पका कारण तीन परिवार विस्थापित भएका छन् भने ६ जना सामान्य घाइते भएका छन्। कारागारमा कैद भुक्तान गरिरहेका एकजना कैदी भाग्नेक्रममा लड्दा दाहिने हातमा सामान्य चोट लागेपछि उनलाई अस्पताल लगिएको थियो। हाल उनको अवस्था सामान्य छ र डिस्चार्ज भइसकेको छ।

यस्तै, भोटेकोशी गाउँपालिका–३ लुसारे क्षेत्रमा सुक्खा पहिरो गएको छ भने इलाका प्रहरी कार्यालय कोदारीको एक तले जस्ताको छानो भएको ब्यारेकमा सामान्य क्षति पुगेको छ।

नेपाल प्रहरीले आपतकालीन अवस्थामा १०० नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।