

काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ, जबकि अन्य भूभागमा आंशिकदेखि सामान्य बदली छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा अन्य पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ। गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
काठमाडौं उपत्यकामा पनि दिउँसो हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छन्। उनका अनुसार दिउँसो २–३ बजेपछि वर्षा हुन सक्ने छ भने राति वर्षा नहुने सम्भावना छ। भोलि पनि काठमाडौंमा बदली रहने र छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले जनाएकी छन्।