काठमाडौं । नेपाली सेनाले बुधबार मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो २६२औं स्थापना दिवस मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यमा परेड (शस्त्राभ्यास), तोप बढाइँ, कवाज तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन्।
देशभरका पृतना, गण, गुल्म, युनिट तथा विभिन्न सैन्य निकायहरूमा पनि सेना दिवस भव्य रूपमा मनाइएको छ। नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार सेना ऐतिहासिक कालदेखि नै राष्ट्रिय मूल्य, मान्यता, परम्परा र संस्कृतिबाट अभिप्रेरित संस्था हो, जसले देशको सुरक्षा र सार्वभौमिकताको रक्षा गर्दै आएको छ।