

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले अब लाइभ भिडियोहरू ३० दिनपछि हटाउने नीति लागू गर्ने भएको छ। मेटाका अनुसार फेब्रुअरी १९ देखि पुराना लाइभ भिडियोहरू हटाउन थालिनेछ।
नयाँ नीतिअनुसार प्रयोगकर्ताले आफ्नो लाइभ भिडियो सुरक्षित राख्न उक्त भिडियो सेभ गर्नुपर्नेछ वा रिलमा रूपान्तरण गर्नुपर्नेछ। फेसबुकले पुराना लाइभ भिडियो हटाउनुअघि प्रयोगकर्तालाई नोटिफिकेसन दिनेछ। प्रयोगकर्ताले ९० दिनभित्र ती भिडियो डाउनलोड गर्न, क्लाउड स्टोरेजमा राख्न वा रिलमा बदल्न सक्नेछन्।
मेटाका अनुसार लाइभ भिडियोहरूमा अधिकांश भ्युज पहिलो साताभित्र मात्रै आउने भएकाले स्टोरेज व्यवस्थापनलाई प्रभावकारी बनाउन यो निर्णय गरिएको हो। फेसबुकको प्रतिद्वन्द्वी ट्विटर (एक्स) ले ६० दिनसम्म लाइभ भिडियो भण्डारण गर्छ भने युट्युबले लाइभ भिडियोलाई स्थायी रूपमा स्टोर गर्न दिन्छ।