

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले चित्रकला र संगीत जस्ता सृजनात्मक क्रियाकलापले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता र नेतृत्व कौशललाई उजागर गर्ने बताए।
बुधबार काठमाडौं महानगरपालिका-७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रममा प्रमुख पाहुना रहेका बालेनले विद्यालयमा बित्ने धेरै समयलाई सिर्जनात्मक गतिविधिहरूमा पनि समावेश गर्नुपर्ने बताए। उनले चित्रकला विद्यार्थीको लिडरसिप क्षमताको विकास गर्ने महत्त्वपूर्ण माध्यम भएको पनि उल्लेख गरे।
कार्यक्रमको क्रममा बालेनले काठमाडौं महानगरका प्रथम मेयर प्रेमलाल सिंहको योगदानको बारेमा विद्यार्थीहरूलाई जानकारी दिन महत्त्वपूर्ण रहेको बताए। उनले मेयर सिंहको कार्यकालको विजनरी नेतृत्व र महानगरमा विकासका लागि खोलिएका नयाँ ढोकाहरूको चर्चा गर्दै विद्यार्थीलाई प्रेरित गर्नुपर्नेमा जोड दिए।
“पिएल सिंहज्यु एकदमै विजिनरी हुनुहुन्थ्यो। उहाँको नाममा आयोजित यो कार्यक्रममा सहभागी भएर म खुशी छु। उहाँको बारेमा विद्यार्थीहरूलाई सिकाउने हो भने भविष्यमा उनीहरूले प्रेरणा प्राप्त गर्नेछन्। लिडरसिपका लागि प्रेरणा पनि चाहिन्छ,” बालेनले भने।
साथै, बालेनले पेन्टिङ, संगीत, र कविता जस्ता सिर्जनात्मक गतिविधिहरू विद्यार्थीहरूको समग्र विकासमा ठूलो भूमिका खेल्नसक्ने कुरा गर्दै, यसले नकारात्मक सोचलाई रोक्न र सिर्जनशीलता बढाउन मद्दत पुर्याउँछ भन्ने विचार राखे।