काठमाडौं। भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्याको कारण ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङ भएको सूचना पाएको उनका पिता सुनिल लम्सालले बताएका छन्।
मंगलबार घटनास्थल पुगेका उनले भारतीय मिडियासँग कुरा गर्दै मृत्युबारे निष्पक्ष छानबिनको माग गरे। “यहाँको प्रशासनले अनुसन्धान गरिरहेको छ। पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ। तर, हामीले पाएको प्रारम्भिक जानकारीअनुसार ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङकै कारण छोरीले आत्महत्या गरेकी हुन्,” उनले भने।
पिताका अनुसार कानूनी प्रक्रिया पूरा गरेर सके आज, नभए भोलिसम्म छोरीको शव नेपाल ल्याइनेछ। “एउटा देशबाट अर्को देशमा शव ल्याउन प्रक्रियागत झन्झट हुन्छ। सकेसम्म आज नभए भोलिसम्म नेपाल लैजानेछौं। हाम्रो एउटै माग छ – न्याय,” उनले स्पष्ट पारे।
प्रकृतिका पिताले घटनापछि नेपाली विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले उचित व्यवहार नगरेको पनि गुनासो गरे। “मैले आइपुगेर युनिभर्सिटी प्रशासनसँग समन्वय गरिरहेको छु। केही कुरा अघि बढेका छन्, तर विद्यार्थीहरूमाथि भएको ज्यादतीको विषयमा उचित छानबिन हुनुपर्छ,” उनले जोड दिए।
नेपाल सरकारले यस घटनाबारे भारतसँग आवश्यक समन्वय गरिरहेको र थप छानबिनका लागि पहल भइरहेको जनाइएको छ।